लगानीमुखी आर्थिक सुधारलाई तीव्र बनाउन नेपाल–भारत उद्योग वाणिज्य महासंघको आग्रह

काठमाडौँ — नेपाल–भारत उद्योग वाणिज्य महासंघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको स्वागत गरेको छ ।
उच्च आर्थिक वृद्धि र समष्टिगत आर्थिक स्थायित्व कायम राख्ने उद्देश्य अवलम्बन गरिएको मौद्रिक नीतिको निक्कलीले प्रशंसा गरेको हो । महासंघका अनुसार, विश्वव्यापी आर्थिक अनिश्चितताका बीच नेपालको बाह्य क्षेत्र, बैंकिङ प्रणालीको तरलता, विदेशी विनिमय सञ्चिति तथा लगानीकर्ताको विश्वासमा सुधार देखिएको छ, जसले आगामी आर्थिक वर्षमा आर्थिक विस्तारका लागि सकारात्मक आधार तयार गरेको छ ।
मुद्रास्फीति करिब ५.५ प्रतिशतमा सीमित राख्ने तथा ७ प्रतिशत आर्थिक वृद्धिलाई सहयोग गर्ने लक्ष्यसहित नीतिगत दर यथावत् राख्ने, बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम गर्ने र भारतीय रुपैयाँसँगको विनिमय दरको स्थायित्व कायम राख्ने निर्णयले व्यवसाय र लगानीका लागि थप विश्वासयोग्य वातावरण बन्ने महासंघको विश्वास छ ।
महासंघले वित्तीय क्षेत्र सुधार, बैंकिङ नियमको सरलीकरण, डिजिटल बैंकिङको विस्तार, कर्जा मूल्यांकन प्रणाली, कर्जा असुली व्यवस्था तथा विदेशी विनिमय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने व्यवस्थाको पनि स्वागत गरेको छ । तर, हाल बैंकिङ प्रणालीमा पर्याप्त तरलता र न्यून ब्याजदर हुँदाहुँदै पनि निजी क्षेत्रतर्फ कर्जा विस्तार अपेक्षाअनुसार हुन सकेको छैन । यसले लगानीको मुख्य चुनौती वित्तीय स्रोतको अभाव नभई लगानीकर्ताको विश्वास, नीतिगत स्थिरता, नियामकीय जटिलता तथा आर्थिक सुधारको कार्यान्वयन रहेको देखाउँछ ।
महासंघले दिगो आर्थिक वृद्धिका लागि मौद्रिक नीतिसँगै वित्तीय अनुशासन, विकास खर्चको प्रभावकारी कार्यान्वयन, व्यवसायमैत्री वातावरण तथा संरचनात्मक सुधार आवश्यक रहेकोमा जोड दिएको छ । निक्कीले विशेषगरी उत्पादनमूलक उद्योग, जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा निर्यातमुखी उद्योगमा लगानी बढाउन, स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न, लगानी स्वीकृति प्रक्रिया सरल बनाउन, उपलब्ध तरलतालाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न, निर्यात प्रवर्द्धन गर्न तथा पूर्वाधार र सीमापार व्यापार सहजीकरणलाई प्राथमिकता दिन आग्रह गरेको छ ।
महासंघले निजी लगानी, विप्रेषण, विदेशी विनिमय सञ्चिति तथा वैदेशिक लगानीमा देखिएको सुधारलाई सकारात्मक संकेतका रूपमा लिँदै नेपाल उपभोगमुखी अर्थतन्त्रबाट लगानी र उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढ्ने अवसर रहेको जनाएको छ ।
नेपाल र भारतबीचको घनिष्ठ आर्थिक सम्बन्धले उत्पादन, ऊर्जा, पर्यटन, व्यापार तथा लगानीका क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै महासंघले स्थिर नीति र सुधारमार्फत दुई देशबीचको आर्थिक साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ । महासंघले नेपाल राष्ट्र बैंक, नेपाल सरकार, भारतीय लगानीकर्ता तथा निजी क्षेत्रसँग सहकार्य गर्दै लगानी, औद्योगिक विकास, व्यापार सहजीकरण तथा नीतिगत सुधारमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन, विकास खर्चको समयमै परिचालन र सम्बन्धित निकायबीच समन्वय हुन सके नेपालले दिगो, उच्च र लगानीमुखी आर्थिक वृद्धि हासिल गर्न सक्ने विश्वास पनि महासंघको छ ।
This article is originally published on ekantipur.

