निक्की र बागमती विश्वविद्यालयबीच शैक्षिक औद्योगिक सुदृढ सहकार्यका लागी समझदारी

काठमाडौं । नेपाल–भारत वाणिज्य तथा उद्योग संघ (निक्की) र बागमती विश्वविद्यालयले आज दुई संस्थाबीच संस्थागत सहकार्य प्रवद्र्धन तथा शैक्षिक क्षेत्र र उद्योगबीचको सम्बन्ध प्रगाढ गर्ने उद्देश्य सहित एक समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यस समझदारी अन्तर्गत इन्टर्नसिप, रोजगारीका लागि सहजीकरण, संयुक्त अनुसन्धान पहल, शैक्षिक–औद्योगिक संस्थाबीच ज्ञान र सीपको आदान–प्रदान तथा क्षमता विकास कार्यक्रमहरू, साथै तालिम, कार्यशाला, सभा र सेमिनारहरूको संयुक्त आयोजना गरिने रहेको छ ।
यस समझदारीले शैक्षिक ज्ञान र उद्योगको व्यावहारिक अभ्यासबीच गतिशील सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको छ । संयुक्त प्रयास मार्फत विद्यार्थीहरूलाई व्यावहारिक सीप प्रदान गर्नुका साथै नवप्रवर्तन र उद्यमशीलतालाई सुदृढ बनाउने उद्देश्य लिइएको छ ।
समझदारीपत्रमा निक्कीका अध्यक्ष सुनील के=सी= र बागमती विश्वविद्यालयका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले हस्ताक्षर गरे ।
समझदारी अनुसार दुवै संस्थाले निम्न क्षेत्रहरूमा सहकार्यका लागि एक साझा पहल र सहकार्य गर्नेछन् ः
- इन्टर्नसिप तथा रोजगारीमा नियुक्तिका लागि सहजीकरणः संरचित इन्टर्नसिप कार्यक्रमलाई सहयोग गर्ने तथा निक्कीमा रहेको विभिन्न क्षेत्रका सदस्य कम्पनीहरूमा बागमती विश्वविद्यालयका विद्यार्थीहरूका लागि रोजगारीका अवसरहरुको लागी सहयोग गर्ने ।
- संयुक्त अनुसन्धान तथा नवप्रवर्तनः व्यवसाय, नीति, प्रविधि, दिगोपन, पर्यटन, ऊर्जा तथा क्षेत्रीय आर्थिक सहकार्यलगायत आपसी चासोका विषयहरूमा सहकार्यात्मक अनुसन्धान सञ्चालन गर्ने ।
- क्षमता विकास तथा तालिमः विद्यार्थी, प्राध्यापक तथा उद्योगका पेशागत व्यक्तिहरूका लागी तालिम सत्र, प्रमाणीकरण कार्यक्रम तथा क्षमता विकाससम्बन्धी कार्यशालाहरूको डिजाइन तथा सञ्चालन गर्ने ।
- शैक्षिक क्षेत्र–उद्योग बीच सम्मेलन, कार्यशाला तथा सेमिनार आयोजना गर्नेः शैक्षिक क्षेत्र र उद्योगका नेतृत्वकर्ताबीच ज्ञान आदानप्रदानलाई सहज बनाउन संयुक्त सभा, सम्मेलन, गोष्ठीहरु आयोजना गर्ने ।
- ज्ञान आदानप्रदान तथा प्रकाशनः शैक्षिक तथा व्यावसायिक क्षेत्रमा निर्णय प्रक्रियालाई जानकारीमूलक बनाउन अनुसन्धानपत्र, नीति सम्बन्धि पत्र, समाचार पत्रिका तथा अन्य प्रकाशनहरू आदानप्रदान गर्ने ।
- पाठ्यक्रम तथा शिक्षण पद्धतिको सुदृढीकरणः उदीयमान बजार, माग र प्रवृतिसंग शैक्षिक कार्यक्रमहरूबीच तालमेल, समायोजन गर्न तथा स्नातकहरूको रोजगारी योग्यता अभिवृद्धि गर्न उद्योग क्षेत्रका अनुभव तथा जानकारी उपलब्ध गराउने ।
- उद्यमशीलता तथा स्टार्टअप सहयोगः उद्यमशीलता तथा नव उद्ययमीहरुका लागी मार्गदर्शन, इन्क्युबेसन सहयोग, व्यावसायिक प्रस्तुति कार्यक्रम (पिच इभेन्ट) तथा अध्ययन र अवलोकन भ्रमण मार्फत उद्यमशीलता विकासमा सहकार्य गर्ने ।
- संयुक्त परियोजना तथा केस स्टडीजः वास्तविक जीवनमा आधारित केस स्टडी, परामर्श सम्बन्धी कार्य तथा क्षेत्रमै आधारित अनुसन्धान लगायतका परियोजनाहरू पहिचान गरी संयुक्त रूपमा कार्यान्वयन गर्ने ।
- विद्यार्थी तथा प्राध्यापकको संलग्नताः छोटो अवधिका उद्योग भ्रमण, अतिथि प्राध्यापक आदान–प्रदान तथा अनुसन्धानको संयुक्त सुपरिवेक्षणलाई प्रोत्साहन गर्ने ।
- नीति पैरवी तथा वैचारिक नेतृत्वः शैक्षिक क्षेत्र–उद्योग सहकार्य तथा राष्ट्रिय र क्षेत्रीय विकासमा प्रभाव पार्ने संयुक्त नीति अनुसन्धान, श्वेतपत्र तथा नीतिगत धारणा कार्यपत्रहरू तयार गर्ने कार्यमा सहकार्य गर्ने ।
- पूर्वाधार तथा केन्द्र विकासः उद्योग र शैक्षिक सम्बन्ध बीच आवश्यक अध्ययन गर्न सम्बन्धित पूर्वाधार तथा केन्द्रहरूको विकास र सहयोगका लागि संयुक्त पहल अघि बढाउने ।
दुवै संस्थाका अध्यक्षहरूले आगामी वर्षहरूमा यस साझेदारीले शैक्षिक क्षेत्र उद्योग बीचको सहकार्यलाई सुदृढ बनाउनुका साथै युवाहरूको सीप अभिवृद्धि गर्ने र उद्यमशीलतालाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।
This article is originally published on hamroartha.

