आर्थिक सहकार्यबारे निक्की र महासंघबीच छलफल

काठमाडौँ — नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) को प्रतिनिधिमण्डलले नेपाल उद्योग वाणिज्य महासंघका नेतृत्वसँग भेटवार्ता गरेको छ ।
निक्कीका अध्यक्ष सुनिल केसी नेतृत्वको प्रतिनिधिमण्डलले महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वको महासंघको टोलीसँग भेटवार्ता गरेको हो ।
उनीहरुबीच नेपाल–भारत आर्थिक सहकार्य तथा दुई संस्थाबीचको संस्थागत समन्वयलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वार्तामा द्विपक्षीय व्यापार तथा लगानी, ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई), नेपाल–भारत संयुक्त व्यवसाय मञ्च (नेपाल–इन्डिया जोइन्ट बिजनेस फोरमै), द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, आर्थिक कूटनीति, औद्योगिक–शैक्षिक तथा सार्बजनिक क्षेत्र सहकार्य एवं भारतमा संयुक्त लगानी प्रवर्द्धनका पहललगायत विषयमा छलफल गरेको छ ।
निक्कीका अध्यक्ष केसीले महासंघसँग निक्कीको लामो समयदेखिको संस्थागत सम्बन्ध स्मरण गर्दै नियमित र संरचित संवादमार्फत दुई संस्थाबीचको सहकार्यलाई थप सक्रिय र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
महासंघ अध्यक्ष श्रेष्ठले निक्कीको निरन्तर संलग्नताको प्रशंसा गरे ।
नेपालको व्यापार तथा समग्र आर्थिक सम्बन्धमा भारतको महत्त्वपूर्ण भूमिकालाई उल्लेख गर्दै नेपाल–भारत आर्थिक सम्बन्धका विषयमा थप समन्वय आवश्यक रहेको उनको भनाइ छ ।
This article is originally published on ekantipur.

